Thursday, December 31, 2015

यमराजसँगको भेट


 उभिने ठाउँसम्म थिएन त्यो बसमा । बल्लतल्ल ढोकामा खुट्टा अड्याउन मात्र सकेको थिएँ । भीडले धकेल्दै बीचसम्म कसरी पुर्यायो मलाई नै थाहा भएन । गुन्द्रुक खाँद्दा बरु “धेरै त थिचिएन” भन्ने सोचिन्छ होला तर त्यहाँ सोच्ने फुर्सद कसैलाई थिएन । एउटा हातले झुन्डिनसम्म पाए पनि भाग्यमानी भन्ने बनाइदिएको थियो नाकाबन्दीले ।

 
त्यो भीडमा कोचिँदै यात्रा गर्नेहरुमा म मात्र थिएँ होला “नाकाबन्दी जसले गर्यो ठीक गर्यो” भन्ने । कारण थिइन् त्यो भीडमा मसँगै टाँस्सिएर उभिएकी एउटी सुन्दरी । उनको सुन्दरता मेरा आँखाले मात्र बयान गर्न सक्छन्, अहँ शब्दहरूको कुरै नगरौं ।

 
उनलाई हेरिरहुँ जस्तो मात्र लागिरहेथ्यो तर आँखाहरू लजाएर अन्यत्र फर्किदिन्थे । उनलाई सधैँभरि अँगालोमा बेरेर राखौं जस्तो लागिरहेथ्यो तर त्यो भीडले धकेलेर उनि मसँग टाँस्सिदा आफैलाई अप्ठ्यारो लाग्थ्यो । भीडमा जानीजानी उनीसँग टाँस्सिने भुस्तिन्ग्रेहरुको कमी थिएन अनि मलाई भने त्यसै रिस उठिरहेथ्यो । कुर्लेर झपार्द्युं जस्तो लाग्थ्यो तर उनको र मेरो केही नाता पनि त थिएन । उनि मसँग रिसाइन् भने ! 

भीडले बीचमा च्यापिरहँदा मैले भीडलाई नै सकी नसकी एकातिर धकेलेर उनलाई उभिन सजिलो हुने ठाउँ खालि बनाइदिएँ । उनि झनै मेरो नजिक सरिन् । अचम्मको अनुभव हुदैथियो मलाई । भर्खरै भेट भएकी केटी, बर्षौंदेखिकी मेरी प्रेमिका हुन् जस्तो लाग्दै थियो ।

 
लगनखेल देखि बानेश्वर पुग्दासम्म मैले संसार नै बिर्सिसकेको थिएँ । मानौं मेरो संसार उनि मात्र हुन् । बानेश्वर कति चाडै आइपुगेछ । हतार भएको दिनमा त कति ढिलो चलाउँछ ठ्यास्नी ड्राइभर, आज चाइ हुइक्याउनु परेको । ड्राइभरलाई कुट्दिउँ जस्तो पनि लाग्यो । त्यो बस अनन्त: दौडिरहोस् जस्तो लागिरहेथ्यो । बस छोडेर झर्न कत्तिपनि मन थिएन । आँखा उनको अनुहारबाट अझैपनि हटेका थिएनन् तर बस नछोडी पनि त भएन । म बाहिर पुगेर हतार हतार उनीतिर फर्केँ । मैले जहाँ छोडेर झरेको थिएँ उनि त्यहाँ थिइनन् । लौ उनि त मेरो पछिपछि पो झरेकी रहेछिन्, छेउमै उभिएको पाएँ । मेरो अनुहार उज्यालो भयो ।


यतिबेरसम्म मैले एक शब्द पनि बोल्न सकेको थिइन । न उनले नै ती ओठ खोलिन् । मैले आँट गरेर सोधेँ; त्यो पानी ट्यांकी भन्या काँ हो ? उनि मुसुक्क हाँसिन् अनि औला तेर्स्याउँदै जबाफ फर्काइन् “उ त्याँ” । पख्नुस् म पनि त्यतै जाने हो त्याँसम्म पुर्याइदिन्छु । केटी आँटिली रैछे । मैले जानी जानी पानी ट्यांकी सोध्या जस्तै उसले पनि अन्त जानुपर्ने मान्छे मसँग हिड्नलाई त्यतै जाने भनेकी त होली नि ! जेहोस् मैले सोचेको जस्तै भयो । भगमान छन् यार । अरू प्रगति होला नहोला तर अझै एकछिन उनको अनुहार हेर्न पाइने भयो ।
 
हामी संगसंगै पानी ट्यांकीतिर अघि बढ्यौं । उनले फेरी मुख खोलिन् “I really loved the way you treated me in the bus, Thank you” म दंग परेर उनलाई हेरिरहें । अब भने मलाई सजिलो भयो कुरा गर्न । एकार्काको बारेमा कहाँ बस्ने, के गर्ने, आदी कुराहरू सोधिसकेपछि पनि म चुप रहन सकिन । “अब त हाम्रो भेट कहाँ होला र फेरी यसरी !” उनले जबाफ फर्काइन् “किन नहुनु नि ! तपाइ Facebook  मा हुनुहुन्न र ?“ मैले सोचेभन्दा सजिलोसँग पो अघि बढ्यो त कुरो । हाम्रो Facebook मा भेट हुने निश्चित भयो । हामी छुट्टिएयौं ।

 
Facebook मा कुरा तिब्र रूपमा बढे झैँ लाग्दै थियो मलाई । मलाई केही त हुन लागेको थियो । त्यस्तो निन्द्रा नलाग्ने, खाना नरुच्ने चाही भइसकेको थिएन । हो, पढ्न चाही मन लाग्दैनथ्यो । त्यो उनलाई भेटेपछि मात्र भएको भने होइन । मलाई बच्चा बेला देखि नै पढ्न मन लाग्दैनथ्यो । पढाइ जबरजस्ती लादेका थिए घरकाले म मा । 


उनको म्यासेस कुरेर बस्ने बानि परिसकेको थियो मलाई । धेरै म्यासेज त गर्दिनथिन् उनि तर जे लेखेपनि मुटुमा ढ्यांग्रो हान्ने खालको हुन्थ्यो । त्यो म्यासेजमा खास केही लेखेको हुँदैनथ्यो तर ‘Hi’ मात्र आएपनि मेरो दिन बन्थ्यो । मुटु ढक्क फुलेर आउथ्यो ।

तर मेरो खुसी धेरै दिन टिक्न सकेन । केही दिन मै उनले मलाई प्रेमी बनाउन नसक्ने स्पष्ट भनिन् । मेरो त झन्डै माया पिरती बाट भरोसा नै उठेको । उनको पहिले नै अरू कोही थियो कि के भनिन् । अब उनि कसैको बन्न नसक्ने भनिन् कि सायद । मलाई उनका कुरा सुन्नमा खासै इच्छा रहेन । चाडै प्रतिक्रिया जनाइ हाल्यो मनले । मलाई एकैछिनमा यो संसारमा बाँचेर अब के गर्नु जस्तो पो लाग्न थाल्यो त !

मेरो दिमागमा झल्याक र झुलुक तीनै म्यासेज र Facebook का गफ आउथे । फ्ल्यासब्याक ! हिन्दी फिल्ममा दिमागको डिस्प्ले देखाए जस्तो । हो त्यस्तै झन्डै झन्डै । अब म बेहोसीमा हिँड्न थालेको थिएँ । कतै बेहोस् भएर ढलेछु । 


होसमा आउँदा चारैतिर आगो बलेको थियो । कस्तो ठाउँ हो के हो बुझ्नै सकिन । झन्डै मान्छे जस्तै देखिने ठूला ठूला सींग भएका तर मान्छे भन्दा धेरै ठूलो अजंगको शरीर भएका जीवहरू देखिन्थे । दृश्यको केहि नजिक पुगेँ । ठूला ठूला कराहीमा तेल उम्लिरहेको थियो अनि त्यसमा मान्छे पो तारिरहेका थिए ती सिंगधारीले । कतै बीचबाट दुइ फक्ल्याटा पारेर चिरिदै थिए मानिसहरु, कतै छाला काडीदै थियो । यस्तै यस्तै थुप्रै अजिबका दृश्यहरू थिए । म डरले थर थर काम्दैथिएँ । मेरो खिया लागेको दिमागलाई खुबै दौडाएपछि थाहा पाएँ म त नर्क पो आइ पुगेको रहेछु ।


स्वर्ग पुग्ने कुनै काम गरेको थिइन मैले । स्वर्ग पुग्न मन पनि कहिल्यै भएन मलाई । खासमा मलाई कहिल्यै मर्न मन नै भएन तर सबै कुराको हिसाब राखिएको हुदोरैछ क्यारे ! जे होस् मेरो हिसाब किताब गर्दा नर्क नै भाग लागेछ।


अनि मेरो नजर बिस्तारै ती पाप गरेर सजाएँ काटिरहेका पापीहरूतिर पर्यो । काला, गोरा, चिम्से सबै वर्णका मान्छे आउने ठाउँ त यही पो रहेछ । मैले चिनेका थुप्रै अनुहार पनि पो रैछन् त यहाँ । अघिसम्म डरले थरथर कामेको मेरो ज्यान एकाएक सान्त भएर रोकियो ।  नर्क आइ पुग्दा पनि मलाई एक किसिमको आनन्द पो आउन थाल्यो त ! होइन के भएको होला यस्तो ? कारण थिए ती मानिसहरू, जसलाई म चिन्थें । हो, तिनिहरूले गजब सजाएँ काट्दै थिए । बडो रमाइलो लाग्दै थियो मलाई त । भगवानले यसरी पाप र धर्मको हिसाब राख्छन् जस्तो पटक्कै लागेको थिएन मलाई । जिउँदो हुँदा मनभित्र गुम्सिएका पीडाहरू, रिसहरू सबै कता गाएब भए भए । मनमा मात्र आनन्द थियो । खुसी थियो । त्यो आनन्द आएको सायद ती पीडकहरूले पृथ्वीमा अरूलाई दिएको दुखको हिसाब बराबर भएको देखेर होला । अर्काको दुखमा रमाउनु हुँदैन भनेर सिकाएका थिए बाउले तर मन भने रमाउँदै थियो ।


त्यता सजायको स्टेज-स्टेज चल्ने रहेछ । म मजा लिदै बसिरहेको थिएँ एक कुनामा । एउटाको मुखमा अजंगको हवाईजहाज घुसारिदैं थियो । ल खा ! ल खा ! तँलाई प्लेन खानु पर्ने होइन ? अर्कोलाई पेट फुट्नेगरि रगत पिलाइँदै थियो । तँलाई रगत मनपर्ने होइन ? ल खा रगत ! लासमा टेकेर माथि चढ्ने होइन ? ल चढ भन्दै लासै लासले पुरिदैं थियो । कसैको मुख भित्र बम च्यापेर फुटाइन्थ्यो अनि फेरी उसका शरीरका टुक्रा टुक्रा जम्मा पारेर जोडेर फेरी त्यसैगरी बम च्यापेर फुटाइन्थ्यो । कसैको मुखभरि पैसा ठेलेर फलामे छडले कोचिँदै थियो । ल खा पैसा । कसैलाई पेट्रोल छर्केर जलाइँदै थियो । कसैलाई ग्याँसका सिलिन्डरको बीचमा राखेर पड्काइँदै थियो । कालो बजारी गर्ने होइन ? अरूलाई दुख दिएर पैसा कमाउने होइन ?

एउटा सामान्य मानिसले यी सबै घटनाहरू हेर्न नसक्नुपर्ने हो । दुख लाग्नुपर्ने हो तर मलाई पटक्कै दुख लागेको थिएन । म त रमाउँदै थिएँ । सायद म राक्षस भैसकेको थिएँ कि ! 

म मेरो देशका ती निर्दोषहरूलाई सम्झिरहेको थिएँ जो बसमा यात्रा गरिरहँदा बम पड्काएर मारिएका थिए । म ती मानिसहरूलाई सम्झिदैं थिएँ जसलाई बिना कारण गोली हानेर मारिएको थियो । म ती भूकम्प पीडितहरूलाई सम्झिदैथिएँ जो जाडोले कठ्याङ्ग्रिएर मरिरहेका थिए । म ती तमाम लासहरूलाई सम्झिदैं थिएँ जो कसैको व्यक्तिगत स्वार्थका लागि सहिद भएका थिए । हो, मलाई आनन्द आइरहेको थियो ।

यत्तिकैमा दुईवटा भुस्तिन्ग्रेहरु आएर “हिड् यमराजबाट तँलाई उपस्थित गराउने हुकुम भएको छ ! हामी यमदूत हौं” भन्छन् । अब तिनले भनेको नटेरी सुख थिएन । म तिनको पछि लागेँ । त्यस्तो ठूलो पाप त के नै गरेको छु र मैले ! त्यसैपनि मन खुसीले चंगा भइसकेको छ अब त । 


केही पर पुगेपछि ती दुई सिंगधारी टक्क अडिएर शिर निहुराए । मान सम्मान गर्ने तरिका त झन्डै झन्डै हाम्रो पृथ्वीमा जस्तै हुदोरैछ । अगाडीपट्टि अर्का अजंगका सिंगधारी मुकुट लाएर सिंहासनमा बसेका थिए । दायाँबायाँ दुइटी राम्रीहरू पंखा हल्लाउँदै थिए । तिनै रहेछन् यमराज । यमराजले चाही कहिल्यै लोडसेडिङको मार खेप्नु नपर्ने देखे मैले त । पापीहरूलाई पोल्न बालेको आगोले उज्यालो भैहाल्ने, दायाँबायाँ दुइटी राम्री सधैँ उभिने भएपछि जाडोमा पनि ज्यान त्यसै तात्ने भैहाल्यो, गर्मीमा तिनले पंखा हम्केकै छन् । 

मैले एकलट शिर निहुराएर जदौ गरेपछि यमराजले मेरो इन्टर्भ्यु लिन सुरु गरे । ‘भन् मनुष्य आत्महत्या जस्तो पाप किन गरिस्?’ (ए मैले आत्महत्या पो गरेको रैछु) ! मैले धाराप्रवाह दिन थालेँ । के गर्नु प्रभु, संसार नै त्यै मोरीलाई मानेको थिएँ तर त्यो मोरीले आफ्नो संसार अर्कैलाई मानेकी रैछे अनि त्यो संसार मेरो संसार कहाँ रह्यो त प्रभु ! 

यमराजका सबै प्रश्नको सहि उत्तर दिने कोसिस गरेँ र अन्त्यमा आत्मा हत्या गरेकोमा क्षमा पनि मागे । जे भयो भयो अब क्षमा पाउँ प्रभु ! यमराज जंगिदै “म यमराज हो कि क्षमाराज” पो भन्छन् । यमराजको पारा देखेर मेरो पनि पारा चढ्यो । हेर्नुस् प्रभु, मलाई पनि घरमा रिसाहा भनेर चिन्छन्, अब मरीसकेपछि रिस पनि मार्छु भनेर पो त चुप लागेर बसेको !


 कता कता ब्याग्राउन्डमा “ढ्यांग ढ्यांग” आवाज आउँदै थियो । म जान्ने पल्टिन अझै छोडिन । हेर्नुस् मैले जाबो आत्महत्या गरेको सजाए नपाइ नछोड्ने भए तपाइले पनि सजाए पाउनुपर्छ । उता हाम्रो पृथ्वीमा 21st century भइसक्यो, सबै मोर्डन भइसके, तपाइँ अझै पुरानै पारामा मुकुट लाएर, साइडमा दुइटी सुन्दरी राखेर दादागिरी गर्ने ?

 
त्यो अघिदेखिको ढ्यांग-ढ्यांग आवाज झनै चर्को बन्यो । म होसमा आएँ । मेरो कोठाको ढोकामा कसैले बाहिरबाट ठोक्दै रैछ । चुक्कुल लाएर पो सुतेको रैछु म । ढोका खोलें । दिपक र बाजे च्याँठीदै थिए “मुला उठ् ! साँढे पाँच बजि सक्यो, सात बजे लाइन जान्छ भनेको होइन ? भात पकाउन परेन ?” 

                                                                                                                                       - काफ्ले

No comments:

Post a Comment