म कम्युनिस्ट हॅु, धर्मलाई
भन्दा बिज्ञानलाई मान्ने । सम्यवादिहरु धर्ममा विश्वास राख्दैनन् रे ! त्यहि भेट्नसक्यो
मसँग भएको ज्ञानको स्रोतले । तर हिन्दु धर्म धान्दिने ठेक्का लिएको बाहुनको घरमा
जन्म लिएपछि भगवान नमानी सुखै थिएन मलाई ।
धर्म एउटै भएपनि भगवान
अनगिन्ती ! तेत्तिस कोटीबाट आफ्नो आवश्यकता अनुसार छान्न पाइने । आवश्यक परेको
बेला मन्दिर गयो बिस रुप्याको फुल अक्षता चढाएर लाखौं करोडौंको काम गरिदिन
चाप्लुसी गरेर फर्क्यो । सस्तो मै काम बन्ने ।
समय परिवर्तनशील छ । र
परिवर्तन अपरिहार्य । संसार बदलिदै, मानव सभ्यता सुधारिदै यहाँसम्म आइपुग्यो ।
हामी आजपनि परिवर्तन खोजिरहेका छौं । तर भगवानमा परिवर्तन कहिल्यै देखिन मैले ।
पशुपतिनाथ र बुढानिलकण्ठको डिमाण्ड कहिल्यै बढेको देखिन न काम गर्ने शैली । सधैं
बिस रुप्याको फूल अक्षता र एक रुप्याको ढ्याक मै खुसी छन् । सस्तो चाप्लुसी मै काम
गराउन पाएकोमा सधैं मख्ख पर्दै फर्किन्छु म पनि । तर भगवानले काम गरेकी घरमै सुतेर
मेरो पैसा फच्चे पार्दिए थाहा छैन मलाई । काम भए नभएको जाँच्ने साधन पनि त छैन
मसँग ।
भगवानले समयसँगै चल्न
नजानेपनि म त परिवर्तन हुनैपर्छ । एउटा प्रगतिशील कम्युनिस्ट यथास्थितिवादी कसरी
बन्नसक्छ ?
भगवान परिवर्तन हुन तयार
छैनन् भने मैले भगवान नै परिवर्तन किन नगर्ने ? मैले गर्ने चाप्लुसी नै हो त्यो
जता गएर गरेपनि त भो । फेरी मैले जति चाप्लुसी गरेपनि यी भगवानले मेरो काम गरे कि
गरेनन् थाहा पाउन पनि त सकिदैन ।
भगवान नै फेरिदिने । तर को
छ त एउटा साम्यवादीले मान्नहुने भगवान ? प्रगतिशील पश्चिमाले मानेका प्रभु यशु
ख्रिस्ट (जिसस्) ? अहँ हुदैन । पितृले सराप्छन् ।
मलाई साम्यवाद पढाउने,
सुनौलो भविष्यको सपना देखाउने, यहि भुमीलाई स्वर्ग बनाउने संकल्प गरेर मरिमेटेका
राजनैतिक नेत्रित्वलाई नै भगवान किन नमान्ने ? चिन्दै नचिनेका पशुपतिनाथलाई सधैं
फूल अक्षता चढाउन जानुभन्दा त हामीलाई अधिकार दिलाउन, स्वतन्त्र बनाउन र हाम्रो
सम्रिद्दीको लागी मरिमेटेका महामानवलाई भगवान मानेहुन्छ । मान्नुपर्छ । मान्छु ।
हो म त्यसै गर्छु ।
पशुपतिनाथ कहिले
प्रतिपक्षमा हुन्थे कहिले सत्तामा केहि थाहा हुदैनथ्यो मलाई । तर अहिलेका
भगवानबारे सबै थाहा हुन्छ । हाम्रा भगवान पावरमा हुनुहुन्छ अहिले । उहाँले चाहे
नहुने केहि छैन । बिहानको घाम उहाँलाई सोधेर उदाउछ, फुल उहाँलाई देखेर मात्र
मुस्कुराउँछ, अनि हावा र नदीनाला उहाँको इशारामा गति लिन्छन् । हाम्रा भगवानले
पृथ्वीलाई पनि उल्टो घुमाइदीन सक्नुहुन्छ जस्तो लाग्छ मलाई त ! यति गर्न त
पशुपतिनाथले नि सक्दैनथे होला !
हाम्रा भगवानको जयजयकार जति
गरेपनि कम हुन्छ । शब्दहरु नै छान्न सक्दिन म त ! रेडियोमा उहाँको बोली सुन्न
पाउँदा मात्र पनि कान नै पवित्र भएर आउँछन् । टेलिभिजनमा उहाँको अनुहार देख्न
पाउँदा आँखा तेजिला हुन्छन्, आँखाको पावर चस्मा उत्रिन्छ । अझ उहाँलाई छुन पाए !
प्रतक्ष भेट्न पाए ! उहाँको पिसाबलाई गौमुत्र झैं पिउन पाए ! दिशालाई चन्दन झैं
निधारमा लेप्न पाए ! जीवन सफल हुनेथियो होला !
भगवान हाम्रो भुमीलाई
स्वर्ग बनाउने मिसनमा हुनुहुन्छ । ठूलाठूला बाटाघाटा, सरर कुद्ने रेल, पानीजहाज,
हावाको विजुली, घरघरमा पाइपबाट आउने ग्याँस उहाँले हामीलाई दिएका वरदान हुन् ।
भगवानको जिम्मेवारी यहि हो । प्राथमिकता यहि हो ।
प्राथमिकता भन्ने अवधारणा
कसले ल्यायो होला ? यो जरुरी छ होला र ? जिउदो रहन अन्नपानी, स्वास्थ्य उपचार नभइनहुने हो र ? पहिला
मोटर किन्ने मेसो गरौँ अनि मोटर चढेर बाँच्नको लागि चाहिने अन्नपानी खोज्न हिडेपनि
त ढिलो नहोला नि ? रेल र पानीजहाज ल्याउनुभन्दा पहिले जताततै भत्केका सडक देख्न
आवश्यक छ र ? महामारीमा भोक-भोकै भौतारिएका गरिब नागरिक देख्न जरुरी छ र ? भगवान भैसकेपछि पनि प्राथमिकतामा अट्किन जरुरी छ होला र ? भगवानले त
चमात्कार गर्ने हो, जताबाट सुरु गरेपनि त भयो नि !
जहाँ भगवान छन् त्यहाँ
राक्षस पनि हुन्छन् । यहाँ पनि छन् । उनीहरु सम्वृद्धि चाहन्नन् । मेट्रो र मोनो रेल
कुदेको, पानीजहाज आएको, घरघरमा पाइपलाइनबाट ग्याँस आएको, मेडिकल कलेज खुलेको देख्न
चाहन्नन् । गरिव साम्यवादीहरू धनि भएको देख्न चाहन्नन् । यस भुमीलाई स्वर्ग भएको
देख्न चाहान्नन् सायद । हाम्रा भगवानले दिएका उपदेशलाई, वरदानलाई, मार्गदर्शनलाई
उखान टुक्का देख्नेहरुको कमी छैन । भगवानको उपदेशमा मार्सी भात गन्हाउछ रे !
बोल्ने मात्र गर्ने केहि होइन रे ! भगवान घमण्डी छन् रे ! अनपढ पाखण्डी झुण्डले घेरिएका छन् रे ! भगवानले टेकेको धरातल यथार्थपरक छैन रे !
भगवान भन्या भगवान हुन् । भगवान
साधारण मान्छे होइनन् । र भगवानले कहिँ टेक्नु आवश्यक छैन । अनि भगवानले दिने
भनेकै उपदेश हो, मार्गदर्शन हो । गर्ने आफैले हो । भागवत् गीता मान्नेहरुले पनि के
बुझुन् भने; कृष्ण भगवानले पनि अर्जुनलाई मार्गदर्शन दिएकाहुन् । वाण हानेर कौरव
सेना मार्ने अर्जुन स्वयं हुन् । भगवानले रेल, पानीजहाज, पाइपलाइनको ग्याँस भनि त
सक्नुभो । अब केहि काम त आफै गर्नुपर्यो नि ! फेरी मेडिकल कलेज खोल्नलाई सकेको गर्नुभएकै हो, यती र ओम्नीको लागी सोच्दिनुभएकै छ, ७० करोड आदी इत्यादीलाई आश्रय छंदै छ, अझै कति गर्न सकुन विचरा ति एक्ला बुढा भगमानले ।
अनि हामी भक्तजनले त जताततै
“भगवान धुर्बसत्य हुन् । भगवानले बोलेको र गरेको नै एकमात्र सत्य हो । बाँकी सब
झुटो हो” भन्दै बसेहुन्छ होला नि ? भगवानले बोलेका काम जति हामीले आफै गर्नपर्ने त होइन
होला नि ?
त्यो जिम्मेवारी मेरै
काँधमा त नआइहाल्ला नि ?
आयो भने ?
सम्झिदै कहाली लाग्ने !
अनि फेरी सोच्छु; के मैले
मानेका भगवान साच्चिकै भगवान नै हुन् ? के भगवान यस्तै हुन्छन् ? “धनसम्पत्ति देखेपछि
महादेवको पनि तेश्रो नेत्र खुल्छ” भनेको सहि होला त ? यो अरु भगवानमा पनि लागु
होला त ? अनि के भगवानसँग पनि घमण्ड हुन्छ होला र ? कतै भगवान आफैले गलत बाटो त समातेनन् ?
ओहो ! त्यो घमण्डी डाक्टर, त्यो पागल
सहि त छैन ? त्यो मर्दा त्यसलाई कति फाइदा छ र मलाई कति ? अनि मेरो भगवानलाई कति ?
के भगवानले पाप र धर्मको
हिसाव राख्छन् होला ? अनि के भगवान आफैलाई पनि पाप लाग्छ होला र ? अनि मलाई ?
गलत संगत वा परिबन्दमा त
परेनन् मेरा भगवान ?
कि भगवान कसैको दवाबमा परे
?
भगवान त कसैको दवाबमा परे
होलान् तर म ?
म कसको दवाबमा परें ?
आफ्नो सोचको ? वा अज्ञानको
? वा आडम्बरको ?