Thursday, December 31, 2015

यमराजसँगको भेट


 उभिने ठाउँसम्म थिएन त्यो बसमा । बल्लतल्ल ढोकामा खुट्टा अड्याउन मात्र सकेको थिएँ । भीडले धकेल्दै बीचसम्म कसरी पुर्यायो मलाई नै थाहा भएन । गुन्द्रुक खाँद्दा बरु “धेरै त थिचिएन” भन्ने सोचिन्छ होला तर त्यहाँ सोच्ने फुर्सद कसैलाई थिएन । एउटा हातले झुन्डिनसम्म पाए पनि भाग्यमानी भन्ने बनाइदिएको थियो नाकाबन्दीले ।

 
त्यो भीडमा कोचिँदै यात्रा गर्नेहरुमा म मात्र थिएँ होला “नाकाबन्दी जसले गर्यो ठीक गर्यो” भन्ने । कारण थिइन् त्यो भीडमा मसँगै टाँस्सिएर उभिएकी एउटी सुन्दरी । उनको सुन्दरता मेरा आँखाले मात्र बयान गर्न सक्छन्, अहँ शब्दहरूको कुरै नगरौं ।

 
उनलाई हेरिरहुँ जस्तो मात्र लागिरहेथ्यो तर आँखाहरू लजाएर अन्यत्र फर्किदिन्थे । उनलाई सधैँभरि अँगालोमा बेरेर राखौं जस्तो लागिरहेथ्यो तर त्यो भीडले धकेलेर उनि मसँग टाँस्सिदा आफैलाई अप्ठ्यारो लाग्थ्यो । भीडमा जानीजानी उनीसँग टाँस्सिने भुस्तिन्ग्रेहरुको कमी थिएन अनि मलाई भने त्यसै रिस उठिरहेथ्यो । कुर्लेर झपार्द्युं जस्तो लाग्थ्यो तर उनको र मेरो केही नाता पनि त थिएन । उनि मसँग रिसाइन् भने ! 

भीडले बीचमा च्यापिरहँदा मैले भीडलाई नै सकी नसकी एकातिर धकेलेर उनलाई उभिन सजिलो हुने ठाउँ खालि बनाइदिएँ । उनि झनै मेरो नजिक सरिन् । अचम्मको अनुभव हुदैथियो मलाई । भर्खरै भेट भएकी केटी, बर्षौंदेखिकी मेरी प्रेमिका हुन् जस्तो लाग्दै थियो ।

 
लगनखेल देखि बानेश्वर पुग्दासम्म मैले संसार नै बिर्सिसकेको थिएँ । मानौं मेरो संसार उनि मात्र हुन् । बानेश्वर कति चाडै आइपुगेछ । हतार भएको दिनमा त कति ढिलो चलाउँछ ठ्यास्नी ड्राइभर, आज चाइ हुइक्याउनु परेको । ड्राइभरलाई कुट्दिउँ जस्तो पनि लाग्यो । त्यो बस अनन्त: दौडिरहोस् जस्तो लागिरहेथ्यो । बस छोडेर झर्न कत्तिपनि मन थिएन । आँखा उनको अनुहारबाट अझैपनि हटेका थिएनन् तर बस नछोडी पनि त भएन । म बाहिर पुगेर हतार हतार उनीतिर फर्केँ । मैले जहाँ छोडेर झरेको थिएँ उनि त्यहाँ थिइनन् । लौ उनि त मेरो पछिपछि पो झरेकी रहेछिन्, छेउमै उभिएको पाएँ । मेरो अनुहार उज्यालो भयो ।

Friday, December 11, 2015

सामाजिक सञ्जाल र मेरो नाता


मेरा प्रतिभाहरु थुप्रै छन्: खान जतिपनि रुच्ने, दिनरात सुतिरहन सक्ने, टुइटरमा जतिबेलै तरुनी जिस्काउने तर हातपार्न चाहिँ एउटी नसक्ने, यस्तै यस्तै । झन्डै झन्डै छिप्पेको बोको जस्तै गन्हाउने बेला भैसक्यो, आफ्नो हुतीले एउटी तरुनी हात लागेकी छैन । अब बाउको अगाडी लम्पसार परेर “ल बुवा अब हजुरलाई बुहारी चाहिनेबेला भो” भन्न मात्र बाँकी छ ।
 

मान्नुस्, ख्याती कमाउने रहर सबैलाई हुन्छ । नमानेपनी मलाई के फरक पर्छ र ! म लिडे पारामा मान्नुस् भन्छु । सायद ख्याति कमाउने आसमा लेख्दैछु कि या अरू कुनै कारणले । म जान्ने पल्टेर लेखक बन्दैछु । यो मेरै लागी हो । मैले धेरै पाठकको अपेक्षा गरेको छैन तर पनि दुइचार जना साथीलाई पढ़दे न यार भनेर फोर्स पक्कै गर्छु । ज्ञान बाँड्ने मेरो धेय होइन, भए बाँड्ने न हो ।

कुरो मेरो ज्ञानको हो; प्रबिधि अनि सामाजिक संजालसंगको सम्बन्धको हो । म नौ कक्षातिर पढ्दा एकजना अंकलको घरमा कम्प्युटर किनेर ल्याएका थिए । सिडी चक्का घुसार्न र निकाल्न जान्दा नै केके न कम्प्युटर चलाउन जानियो जस्तो लाग्थ्यो । केहीपछि इन्टरनेट भन्ने सुनेकाहरुको संगत भयो र “Yahoo” मा खाता खोलेँ । Yahoo को  Chat Room अनि घण्टाको २० रूप्या कहिले नभुलिने याद हो । त्यहाँबाट सुरु भएको थियो आजको प्रबिधिसंगको मेरो सम्बन्ध । 

राम्री केटी मलाई सानैदेखि मन पर्थ्यो तर एउटै राम्री केटीलाई म मन पर्दैनथें । म अरूभन्दा कत्तिको फरक थिएँ थाहा भएन तर याहु च्याट बडो टेस पर्थ्यो । म राम्री केटीको खोजीमा हुन्थें । खाजा खान भनेर दिनको २० रूप्या पाइँदैनथ्यो होला तर दिनको कम्तीमा २० रुप्याको याहु च्याट खाइन्थ्यो । कसरी म्यानेज गरिन्थ्यो कुन्नि तर घाटाको व्यापार धानियो +२ का दुइबर्ष । झन्डै +२ सकिने बेलातिर hi5 भन्ने सुनियो, राम्रीहरूका फोटा पनि देख्न पाइने । Facebook २००४ मै बनेको रे तर मैले २००८ तिर मात्र थाहा पाएँ । अझै मलाई hi5 मै टेस पर्थ्यो । फेसबुक त पछि आएको नयाँ जस्तो पो लाग्थ्यो । थोत्रो मोबाइलबाट फोटा खिचिन्थ्यो अनि साइबर गएर “बफरिंग” झेल्दै १ घण्टामा दुइटा फोटा अपलोड गरेर गमक्क पर्दै फर्किन्थ्यो । बाटोबाटोमा गफ पेल्दै हिँडिन्थ्यो “hi5 यस्तो hi5 उस्तो” भन्दै । अझ hi5 भन्ने नसुनेकालाई त “तिम्लाई इन्टरनेट चलाउन आउँदैन हो ?” भनिन्थ्यो कि !

२००९ तिर अम्रिका पुगेको काकाको छोरोले “फेसबुकमा आउनु कि आउनु” भनेर करायो । अम्रिका पुगेकाले कर गरेपछि पक्कैपनि यो hi5 भन्दा Facebook नै राम्रो होला भनेर त्यता लागियो । सुरुसुरुमा खासै टेस पर्दैनथ्यो । तरुनीका फोटा हेर्नपरे hi5 नै खोलिन्थ्यो । पछि बिस्तारै त्यतै नसा बस्यो । पछि थाहा पाएँ मैले छोडेपछि hi5 पनि चल्न छोडेछ ।