Thursday, February 11, 2016

कन्सलटेन्सी की केटी

गट्ठाघर सम्म मात्र हो म लुखुर लुखुर हिँड्नुपर्ने । त्यहाँ पुग्दा नपुग्दै एउटा महिन्द्राको स्कोरपियो ‘प्याँ-प्याँ’ हरन बजाउँदै लीन आउँछ । बाटोमा घोप्टो परेर लडेको मोबाइल भेटेको छु आज त ! Iphone ! त्यै एप्पल कै Iphone ! मन फुरुङ्ग छ । हिडेरै पुग्दिन्छु डिल्लीवजारसम्म उस्तै परे ।  


उ आए बुढा हरन बजाउँदै । म नजिक रोकियो स्कोरपियो । म ढोका खोलेर सानसँग छिर्छु भित्र, सधैँ यसैगरी ।  

यी स्कोर्पियो वाला बुढा मेरा आफ्नै फुपाजु पर्छन्, टाढाका । म बाग्लुंगबाट काठमाण्डौ आउँदा हाम्रो वरिपरिमा यीनै बुढा मात्र थिए यो खाल्डोमा बस्ने । अनि नजिकका फुपाजु नभनी सुखै थिएन । असाध्य माया गर्छन् । सधैँ डिल्लीवजारसम्म आफ्नै गाडीमा पुर्याउन आउँछन् मलाई । मलाई पुर्याउन मात्रै चाइ आउँदैनन् बुढा । डिल्लीवजार मै हो इनको अफिस पनि । एउटा नामुद बैकको HR मेनेजर हुन् । मलाई यो फाइनान्स कम्पनीको अकाउन्टेन्ट बनाइदिने पनि यीनै बुढा हुन् । 


BBS पास गर्ने बित्तिकै जागिर पा’को हुम् । बेरोजगार भएर कसैको लागि ढुंगा हान्न हिँड्न परेन । ठुलै गुन ला’काछन् । म सधैँ यही स्कोरपियो बाट झर्छु डिल्लीवजार चोक देखी अलिक माथि पट्टि । अनि यो रातो रँगले पोतेको बिल्डिंगको तेस्रो तलामा उक्लिन्छु । बुढा मलाई झरालेर आफ्नो अफिसतिर हिँड्छन् । मलाई चाहिँ ड्राइभरले मालिकलाई अफिस छोडेर घर फर्के जत्तिकै सान पर्छ ।

Friday, January 15, 2016

राजनीति, मेरा बा र म

चार वर्षको हुँदादेखि चारतारे झुम्रोलाई लौरोमा बाँधेर “नेपाली काँग्रेस जिन्दाबाद” भन्न थालेको थिएँ रे मैले । मेरो जन्म कांग्रेसीको घरमा भएको थियो । म ‘कालो काँग्रेस बाइ बर्थ' रहेछु । मन भने असाध्य सेतो छ जस्तो लाग्छ आफैलाई । म मेरा बाउलाई घरमा चाइ ‘बुवा’ भनेर सम्बोधन गर्छु तर यता बाउ या बुढा लेखेँ भने अपमान गरे जस्तो नबुझियोस् । मनमा असाध्य धेरै सम्मान छ बुढाप्रति । बच्चा देखि अहिलेसम्म नाफाको आस नगरी लगातार लगानी गरेका छन् म मा । कमर्सको विद्यार्थी भएपछि नाफा नोक्सानको भाषा नबोली सुखै छैन । साँवाको ब्याज, ब्याजको प्याज, प्याजको स्याज असुल्ने नियत राखेर मात्र ऋण दिने भयो दुनियाँ तर बाउ आमाले हामीबाट असुल गर्ने भनेको हाम्रो सुरक्षित भविष्य मात्र होला जस्तो लाग्छ मलाई । त्यसैले पनि सबैका बाबु आमा प्रति मेरो सम्मान छ र सबै छोराछोरोले सधैँ आफ्नो दाइत्व याद राख्नुपर्छ जस्तो लाग्छ । मलाई त के के लाग्छ लाग्छ । दार्शनिक बनेर दर्शन छाँट्न बेर लाउँदिन उस्तै परे ।
 
मेरो राजनीति सँगको सम्बन्धको कुरा गर्दा मेरा बाउ लाई टाढा राख्न सकिँदैन । तीनै बुढाले थोपरेका थिए म मा यो सबै । देशलाई स्वतन्त्र बनाउन १८ महिना जेल बसेका बुढाको घरमा चाहिँ खासै स्वतन्त्रता थिएन । म तीनै बुढाको निरंकुश तन्त्रमा हुर्किएँ । गुच्चा खेल्न जाँदा पनि डराइ डराइ जानु पर्थ्यो, नहरमा नुहाउन पनि तीनै बुढाले रोक लगाएका थिए । यस्तै यस्तै थुप्रै । बडो कठिन थियो मेरो बाल्यकाल । केटी जिस्काउन त मरे पाइन्थेन । त्यसैको भडास निस्किन्छ सायद अचेल । जतापनि राम्री केटी देखे कन्ट्रोल नै हुदैन, जिस्काइहाल्छु ।