चार वर्षको हुँदादेखि चारतारे झुम्रोलाई लौरोमा बाँधेर “नेपाली
काँग्रेस जिन्दाबाद” भन्न थालेको थिएँ रे मैले । मेरो जन्म कांग्रेसीको घरमा भएको थियो । म ‘कालो काँग्रेस बाइ बर्थ' रहेछु । मन भने असाध्य सेतो छ जस्तो लाग्छ आफैलाई । म मेरा बाउलाई घरमा चाइ ‘बुवा’ भनेर सम्बोधन
गर्छु तर यता बाउ या बुढा लेखेँ भने अपमान गरे जस्तो नबुझियोस् । मनमा असाध्य धेरै सम्मान छ बुढाप्रति । बच्चा देखि अहिलेसम्म नाफाको आस नगरी लगातार
लगानी गरेका छन् म मा । कमर्सको
विद्यार्थी भएपछि नाफा नोक्सानको भाषा नबोली सुखै छैन । साँवाको ब्याज, ब्याजको प्याज, प्याजको स्याज असुल्ने नियत राखेर
मात्र ऋण दिने भयो दुनियाँ तर बाउ आमाले हामीबाट असुल गर्ने भनेको हाम्रो सुरक्षित
भविष्य मात्र होला जस्तो लाग्छ मलाई । त्यसैले
पनि सबैका बाबु आमा प्रति मेरो सम्मान छ र सबै छोराछोरोले सधैँ आफ्नो दाइत्व याद
राख्नुपर्छ जस्तो लाग्छ । मलाई त के के लाग्छ लाग्छ । दार्शनिक बनेर दर्शन छाँट्न बेर लाउँदिन उस्तै
परे ।
मेरो राजनीति सँगको सम्बन्धको कुरा गर्दा मेरा बाउ लाई टाढा राख्न सकिँदैन
। तीनै बुढाले थोपरेका थिए म मा यो सबै । देशलाई स्वतन्त्र बनाउन १८ महिना जेल बसेका
बुढाको घरमा चाहिँ खासै स्वतन्त्रता थिएन । म तीनै
बुढाको निरंकुश तन्त्रमा हुर्किएँ । गुच्चा
खेल्न जाँदा पनि डराइ डराइ जानु पर्थ्यो, नहरमा नुहाउन पनि तीनै बुढाले रोक लगाएका
थिए । यस्तै यस्तै थुप्रै । बडो कठिन थियो मेरो बाल्यकाल । केटी जिस्काउन त मरे पाइन्थेन । त्यसैको भडास निस्किन्छ सायद अचेल । जतापनि राम्री
केटी देखे कन्ट्रोल नै हुदैन, जिस्काइहाल्छु ।