Friday, December 11, 2015

सामाजिक सञ्जाल र मेरो नाता


मेरा प्रतिभाहरु थुप्रै छन्: खान जतिपनि रुच्ने, दिनरात सुतिरहन सक्ने, टुइटरमा जतिबेलै तरुनी जिस्काउने तर हातपार्न चाहिँ एउटी नसक्ने, यस्तै यस्तै । झन्डै झन्डै छिप्पेको बोको जस्तै गन्हाउने बेला भैसक्यो, आफ्नो हुतीले एउटी तरुनी हात लागेकी छैन । अब बाउको अगाडी लम्पसार परेर “ल बुवा अब हजुरलाई बुहारी चाहिनेबेला भो” भन्न मात्र बाँकी छ ।
 

मान्नुस्, ख्याती कमाउने रहर सबैलाई हुन्छ । नमानेपनी मलाई के फरक पर्छ र ! म लिडे पारामा मान्नुस् भन्छु । सायद ख्याति कमाउने आसमा लेख्दैछु कि या अरू कुनै कारणले । म जान्ने पल्टेर लेखक बन्दैछु । यो मेरै लागी हो । मैले धेरै पाठकको अपेक्षा गरेको छैन तर पनि दुइचार जना साथीलाई पढ़दे न यार भनेर फोर्स पक्कै गर्छु । ज्ञान बाँड्ने मेरो धेय होइन, भए बाँड्ने न हो ।

कुरो मेरो ज्ञानको हो; प्रबिधि अनि सामाजिक संजालसंगको सम्बन्धको हो । म नौ कक्षातिर पढ्दा एकजना अंकलको घरमा कम्प्युटर किनेर ल्याएका थिए । सिडी चक्का घुसार्न र निकाल्न जान्दा नै केके न कम्प्युटर चलाउन जानियो जस्तो लाग्थ्यो । केहीपछि इन्टरनेट भन्ने सुनेकाहरुको संगत भयो र “Yahoo” मा खाता खोलेँ । Yahoo को  Chat Room अनि घण्टाको २० रूप्या कहिले नभुलिने याद हो । त्यहाँबाट सुरु भएको थियो आजको प्रबिधिसंगको मेरो सम्बन्ध । 

राम्री केटी मलाई सानैदेखि मन पर्थ्यो तर एउटै राम्री केटीलाई म मन पर्दैनथें । म अरूभन्दा कत्तिको फरक थिएँ थाहा भएन तर याहु च्याट बडो टेस पर्थ्यो । म राम्री केटीको खोजीमा हुन्थें । खाजा खान भनेर दिनको २० रूप्या पाइँदैनथ्यो होला तर दिनको कम्तीमा २० रुप्याको याहु च्याट खाइन्थ्यो । कसरी म्यानेज गरिन्थ्यो कुन्नि तर घाटाको व्यापार धानियो +२ का दुइबर्ष । झन्डै +२ सकिने बेलातिर hi5 भन्ने सुनियो, राम्रीहरूका फोटा पनि देख्न पाइने । Facebook २००४ मै बनेको रे तर मैले २००८ तिर मात्र थाहा पाएँ । अझै मलाई hi5 मै टेस पर्थ्यो । फेसबुक त पछि आएको नयाँ जस्तो पो लाग्थ्यो । थोत्रो मोबाइलबाट फोटा खिचिन्थ्यो अनि साइबर गएर “बफरिंग” झेल्दै १ घण्टामा दुइटा फोटा अपलोड गरेर गमक्क पर्दै फर्किन्थ्यो । बाटोबाटोमा गफ पेल्दै हिँडिन्थ्यो “hi5 यस्तो hi5 उस्तो” भन्दै । अझ hi5 भन्ने नसुनेकालाई त “तिम्लाई इन्टरनेट चलाउन आउँदैन हो ?” भनिन्थ्यो कि !

२००९ तिर अम्रिका पुगेको काकाको छोरोले “फेसबुकमा आउनु कि आउनु” भनेर करायो । अम्रिका पुगेकाले कर गरेपछि पक्कैपनि यो hi5 भन्दा Facebook नै राम्रो होला भनेर त्यता लागियो । सुरुसुरुमा खासै टेस पर्दैनथ्यो । तरुनीका फोटा हेर्नपरे hi5 नै खोलिन्थ्यो । पछि बिस्तारै त्यतै नसा बस्यो । पछि थाहा पाएँ मैले छोडेपछि hi5 पनि चल्न छोडेछ ।

 
Facebook चलाउन थालें । सुरुमा कालो चस्मा ला’को फोटो राखेको थिए प्रोफाइल पिक्चरमा । तरुनीहरूले सुरुमा फोटो लाइक गर्लान् अनि मान्छे लाइक गर्लान् भन्ने ठुलो आस हुन्थ्यो मनभित्र । तर २००९ त्यसै बित्यो । म एउटी राम्रीको रोजाइमा पनि परिन । राम्री त के नराम्रिको रोजाइमा पनि परिन । त्यतिबेला म दिल्ली पुगिसकेको थिए । भित्रबाट CA पढ्ने इच्छा कत्तिपनि थिएन यो भैरव अर्यालको फ्यानलाई । त्यहीमाथी “CA गाह्रो हुन्छ, हेर है पछी यता न उता होलास्” भनेर टेन्सन दिनेहरूको कमी हुन्थेन । तर नेपालमा जन्मियो गोर्खे बिर भएर । घुँडा धसेर, टुप्पी बाँधेर, के जाति के जाति गरेर नपढेसम्म भविष्य सुनिश्चित नहुने । नेपालमा बस्दा म फ्रसटेड भएर बौलाउन आँटेको थिएँ । मलाई नेपाल छोड्नु थियो । अफगानिस्तान पुगियोस् या इराक तर नेपाल चाही छोड्नु थियो । सायद देशका थुप्रै युवाहरुलाई यस्तै हुन्थ्यो र हुन्छ अझैपनि । यो कहानी पनि सोसियल मिडियासँगै गएर जोडिन्छ । हो, इच्छा नभएको ठाउँमा मेहनत गर्न थालेको थिएँ, तनाव हुन्थ्यो अनि रमाइलोको एउटै साधन फेसबुक बनेको थियो । हिन्दी फिल्म 3 Idiots नसम्झिनुहोला । त्यति सारो पनि भ’को थिएन, फाइनलमा छोडेर भाग्नेजस्तो । जेजस्तो थियो मेरै रोजाइ थियो । घरकाले जबर्जस्ति चाइ गरेका होइनन् ।

फेक खाताको चल्ती सुरु भइसकेको थियो । मैले पनि २०१० को अन्तिमतिर एउटा फेक खाता बनाएको थिएँ । उदेश्य मात्र केटी जिस्काउने । सके पटाउने । उता रियल खातामा घरतिरका थुप्रै जोडीइसकेका थिए । स्वतन्त्रता थिएन । त्यसैले फेकमै रमाइन्थ्यो । त्यतिबेला तिरै “फलनाले यस्तो टुइट गर्यो, फलनाले उस्तो टुइट गर्यो” भन्ने खुब सुनिन्थ्यो । के रैछ त भनेर टुइटरमा खाता खोलें तर चलाउनै जानिन । खासै टेस परेन, खासै के रत्तिभर टेस परेन ।

 
उता फेसबुकको लत बसिसकेको थियो । फेसबुकभन्दा धेरै एउटी दाउरीको लत । फेसबुकबाट एउटी विराटनगरतिरकी दाइकी साली पर्ने च्यांखुरी पटा’को थिएँ । त्यसले मलाई पटाई कि मैले त्यसलाई स्योर थिएन । मभन्दा धेरै बाठी थिइ, चण्डाल । माया गरेझैं गर्थी, फोन गर्थी नेपालबाट । त्योबेला नेपाल फोन गर्दा मिनेटको ९.२० रूप्या IC पर्थ्यो । मिनेटको झन्डै १५ रूप्या तिरेर त मैले उसको बर्थदेमा मात्र गरें होला फोन । सधैँ कसले गर्न सकोस् । त्यसैले गर्थी २ रुप्याको इन्टरनेट फोन । अनि जहिले सुनाउथी “खाजाको पैसा बचाएर तिम्लाई फोन गर्छु, माया गर्छु” । त्यो भर्चुअल दुनियाँ थोरै मेरो वास्तविकता बन्दैथियो । कताकता माया लाग्थ्यो च्यांखुरीको । कहिले त घरतिरबाट महिनाको एकपटक पनि आउँदैनथ्यो फोन तर च्यांखुरीले कम्तिमा दुइ दिनको एकपटक फोन त गर्थी होला । घरको न्यास्रो मेटाउथी । 

मेरो ३ बर्षे आर्टिकलसिप ट्रेनिंग सुरु भैसकेको थियो, दिनभरी गोरु जोतिए झैँ जोतिन्थें अनि बेलकी फेसबुक च्याटमा च्यांखुरीसित । CA को गाली देखिका दिनभरिका तमाम तनाव बिर्सिन्थें, कस्सम । सायद त्यो नै थियो Facebook ले दिएको सबैभन्दा ठूलो खुसी । च्यांखुरी सार्है राम्री त थिइन तर माया गरेझैं गर्दिन्थी, फोन गर्दिन्थी, त्यो खडेरीमा मेरोलागि त्यति बहुत थियो । अनि उसले चाहिँ मसंग उसको भविष्य सुरक्षित देख्थी सायद । भोली CA भैहाल्यो भने त दाम छाप्छ भन्ने सोच्थी । कहिलेकाहीँ त्यसका शब्दहरूबाट त्यस्तै बुझ्थें । जेहोस् ट्रेनिंग कै भाग दौडमा हिँड्ने समय थियो त्यो ।  फाइनलको जाँच आउन धेरै बाँकी थियो । पढ्नुपर्ने बेला भ’कोभए त डुबाउने रैछ च्यांखुरीले । त्यतिसम्म भ’को रैछ ।

बैंसमा स्याल पनि घोर्ले हुन्छ भनेझैं, बैंस चढेपछि धेरै थोरै साहित्यको मोह सबैलाई हुदोरैछ । त्यो माया प्रेमको काउकुती मेरा फेसबुकका भित्ताहरूमा पनि देखिन्थ्यो साहित्यको रूपमा । अझैपनि मेट्नसकेको छैन तिनलाई । थुप्रैले “तँ सिए पढ्न ग’को कि बिहे पढ्न ग’को?” पनि भन्थे ।
 
च्यांखुरीको बाउसंग मेरो बाउसँग भन्दा अलिक धेरै सम्पती थियो कि, बेलाबेलामा उ अप्रत्यक्षरुपमा त्यसको फुर्ती लाउथी । विराटनगर जाँदा पनि “Air Ticket” लिएँ भन्दै सुनाउथी । मुस्किलले १/२ पटक प्लेन चढेको मान्छेको झनक्क पारा चढ्थ्यो । यस्तै यस्तै कुराहरुले उसको र मेरो दूरी बढ्यो सायद । जे होस् भेट्दै नभेटी हाम्रो ब्रेकप भयो । 

मलाई दुइचार दिन अफिसमा काम गर्न पनि मन लागेन । अनि केही दिनमा ट्रेनिंगको दोस्रो बर्ष सुरु भयो । मेरो बोसले औकात देखाउन थाल्यो । दिल्लीमा फ्ल्याटको भाडा तिर्थें तर बसाइँ सधैं दिल्ली बाहिर हुन्थ्यो, काममा । त्यसपछि त फेसबुक खोल्नु र छोरी माइत आउनु उस्तै उस्तै, कहिलेकाहीँ मात्र । मेरो सामाजिक संजालसंगको सम्बन्ध लगभग विच्छेद नै भैसकेको थियो त्यो बेला ।

ट्रेनिंगको अन्तिम बर्षमा टुइटरको मजा लिनेहरुसंग भेट भयो । “तैट फेसबुक पनि चलाउने चिज हो” भन्दै गफ पेल्थे । अनि २०१३ को अन्तिमतिर नयाँ खाता खोलेँ । त्यो २०१० तिरको खाताको पासवर्ड भुलिसकेको थिएँ । मेरो दिमागले रिट्राइब गर्न मिल्छ है भन्ने पनि सम्झेनछ, न कसैलाई सोध्न नै सकेछ । हुन त त्यसमा मेरो खासै केही कैद थिएन तर पनि आजभोली “यी म पनि पुरानो मान्छे हुँ टुइटरको” भन्दै गफ पेल्न काम आउथ्यो कि ! थाहा पाएँ, यता यस्तै यस्तै होडबाजी चल्दोरैछ । पछि पुरानो खाताको पासवर्ड रिट्राइब त गरेँ तर नयाँ खातालाई नै दुइचार जनाले चिनिसकेका थिए, त्यो खाता चलाउन मन लागेन र डियाक्टिबेट गरें (स्पस्टिकरण दिनै खोजेँ) ।  
टुइटर चलाउन सिकाउनेहरू थिए यसपाली, टेस पर्न थाल्यो । चलाउन थालेको केही दिन पछि भेट भयो अनुप ढुंगाना । CA पढ्ने सुरुवातका दिनमै घनिष्ठ बनेको मेरो विद्वान साथी । टुइटरमा पुरानो टुइटे भनेर चिनिदो रैछ । मलाई त बाजेले भनेपछि मात्र थाहा भयो । बाजे मेरो बाउको बाउ होइन । त्यै टुइटरमा म भन्दा पनि जान्ने पल्टिने केटो, मनोज घिमिरे ।  

मानव इतिहास देखि वालस्ट्रिटको दैनिक अप डाउन सम्म कुनैपनि विषयमा तार्किक बहस गर्न सक्ने केटोलाई केहीले त चिनिसकेका रैछन् टुइटरमा । बाजे होइन त्यै स्टोन म्यानको कुरा गरेको मैले, अनुप ढुंगाना । केटोले सुरुमा त मलाई पनि फलो गरेन । उसको ल्यापटपबाट मैले नै फलो थिचेकी, सायद । उ त्यतिबेलासम्म टुइटरको लत छुटाउन झन्डै रिह्याब नै लैजानुपर्ने स्थितिमा रैछ । उसका धेरै कुरा तारिफ गर्न लायक छन् । किताबको कीरो भएपनि कोर्सको किताब खासै पढ्न मन गर्दैन । आफूसँग भएको ज्ञानको फुर्ती कहिल्यै लाउँदैन । वायोमा “I love two things, books and boobs” लेखेको छ तर सधैं बुक्स लवर जस्तो मात्र गर्छ, बुब्स लवर जस्तो कहिल्यै गर्दैन । उसको पछिल्लो मोह चाहि मैले आफ्नो परसनालिटी बनाएको छु टुइटरमा (बूब्स लवर) ।
 
साच्चिकै टुइटरको लत बसेछ मलाई । बिहानै आँखा खुलेपछि मोबाइल छामछुम गर्छु र टुइटर याप थिचेर एकलट स्क्रोल गरिहाल्छु  । केही नयाँ छ कि ! कहिले त एउटै नेटिफिकेसन देख्दिन, ङिच्च पर्छु । बिहानै “फलानो फलानो एंड २ हन्ड्रेड ५६ अदर्स फलोड यु” भनेर आओस् जस्तो लाग्छ । फलोअर्स धेरै भएर खान दिने होइन थाहा छ तैपनि बढेहुन्थ्यो जस्तो लाग्छ । मलाई सबैले चिनुन्, जे लेखेनी “वाह वाह” भन्दिउन् जस्तो लाग्छ । तर मैले लेखेका टुइटका भरमा मेरा खुबी र कमजोरी नजरअन्दाज नगरुन् जस्तो लाग्छ । यस्तै यस्तै थुप्रै लाग्छ ।  राम्री ठिटी जति सबै मेरै पछी लागुन् जस्तो लाग्छ । सायद यस्तो मलाई मात्र लाग्छ । टुइटरको कहानी सुनाइसाध्य छैन । १८ जनाको सम्म ब्लक खाएको थिएँ एकताका । हदैसम्म जिस्काउथें, उनीहरूले रिस पोखेर ब्लक गर्थे, म त्यसमा पनि मजा लिन्थें ।
 
म फेसबुकतिरै डुबिरहंदा दुइचारजना टुइटेले भन्थे “टुइटर जोपाइले चलाउदैनन्, अलिक ज्ञानीहरुले मात्र चलाउछन्” । शब्द बेग्लै थियो होला तर सार भने त्यहि हो । हो, साच्चिकै सहि रहेछ । यतातिर सबै ज्ञानी, जान्ने मात्र भेट्छु । जान्ने र जान्ने पल्टिने । जान्ने भन्दा कयौं गुणा धेरै जान्ने पल्टिने । सायद म पनि तिनै मध्यको एक बन्न पुगेँ अब । खोपडी भित्र केही छैन मेरो तैपनि समाज, राजनीति, साहित्य कुनै बिषयमा कम ज्ञान भएजस्तो गर्दिन । कोही यता ज्ञान लिन आएको भन्छन्, कोहि बाँड्न आए झैँ गर्छन् । म त मजा लिन आएको हुम्, ज्ञानको भकारी त मसंगै छ बच्चाबेला देखि तर बाँड्न मन लाग्दैन ।   

अझ फलोअर्स र रिटुइटको दौड हुन्छ । प्रमोसनको स्टेज-स्टेज नै बनेको हुन्छ कि ! १०० Rt कटे शुब्बा, ५०० कटे शाखा अधिकृत, १००० कटे उपसचिव, सह-सचिब, सचिब हुदै लगभग मुख्य-सचिब सम्म पुगेर टुंगिन्छ । फलोअर्स संख्याको पनि त्यस्तै त्यस्तै मुल्यांकन । २००० Rt कटेकाले रिप्लाई गर्दिदा त पेट नै डमक्क भरिएर आउँछ । बेल्की खानै नखाइ सुतम् झैँ हुन्छ ।  नारायण दाइ र लेनदाइको रिप्लाई आउदा दुइचार रात त म खानै नखाइ सुतेँ होला । लेनदाइ को हो भनेर मैले यो बकमफुसे लेखमा चिनाइरनुपर्ने ? पाठक मित्र टुइटर नचलाउ । जे होस् हामीमाझ टुइटरका रजनीकान्त तिनै हुन् ।
अनि यता राजनिती पनि हुन्छ थोरै । टुइटरमा थुप्रै पार्टी छन् । शंखमुल पार्टी, भृकुटीमण्डप पार्टी, सामाखुसी पार्टी, अनि यस्तै पोखरा, चितवन आदि इत्यादि । सायद उबेला केपी र प्रचण्ड बाझे झैँ बाझ्छन् होला । तर आत्मसम्मान भएका छन् । ती राजनीतिज्ञले झैँ व्यक्तिगत स्वार्थका लागि थुकेको थुक चाट्दैनन्, इमान बेच्दैनन् (यिनका तारिफ यो भन्दा धेरै गर्न सक्दिन) । भोलि यो लेख पढेपछी सबैले बल्केर मेरो टुइटरको अस्तित्व नै मेटाइदिने हुन् कि ? त्यति इख पनि नलेलान् नि ! बल्केछन् भनेपनि अर्को फेक खाता छँदैछ ।

म टुइटरमा  जतिबेला ठिटीकै पछि लागेको देखिन्छु । आफै जान्ने पल्टिन मात्र खोज्छु । टुइटरको लत लागेकाहरुलाई जतापनि आफै जान्ने पल्टिनुपर्ने रैछ क्यारे ! टाइमलाइनमा जति बेलै ठिटीको पछी लागेर केहि प्रगति त गरेको थिएँ तर त्यो पछी आएर निल्नु न ओकल्नुमा परिणत भयो ।  त्यसको सहि मार खेपेको छु । त्यसले ठुलै कहानी बनाएको थियो । त्यो कहानी यता लेखिन भो !

त्यो CA को तिनबर्षे ट्रेनिंगले सायद मेरो क्रियटिभिटी (गफ पेल्ने कला) सबै झन्डै मार्दिसकेको थियो । अब फेरी म आफ्नै पाराले जिउन थालेको छु । मनलागेको लेख्छु । दुनियाका बारेमा खासै सोच्दिन । टुइटरमा मसँग अरू रिसाउदा पनि मलाई उनीहरुसंग खासै रिस उठ्दैन । म परिवर्तन भैसकेछु । अब त म वास्तविकतालाई पनि भर्चुअल दुनियाँ जस्तो जिउँछु । म यस्तो भएको छु, कस्तो कस्तो भएको छु । पागल त भैसकेको छैन तर पनि कहिलेकाही पागल जस्तै बन्दिन मन लाग्छ ।  दुनियाँको वास्ता नगर्ने, मन लागि गर्ने अनि फोहर नै टिपेको किन नहोस् आफ्नो लागि मात्र सोच्ने । मेरो सामाजिक संजालसंगको सम्बन्ध झनै घनिष्ठ बन्दैछ । सायद यो सम्बन्ध लामै जान्छ । यसले जसरी होस् मलाई हँसाएको मात्र छ, कहिल्यै रुवाएको छैन ।  मलाई यस्तै यस्तै थुप्रै कुराहरू सिकाएको छ ।  हेर्नुस् त आज लेखक पनि बनायो । हो यसैले हो मलाई लेखक बनाएको ।

                                                                                                                                                             - काफ्ले 

31 comments:

  1. यस्तो लेख्न आउने मान्छेले त उपन्यास लेख्नु नि!!!!! एक चोटी सुरु गरेसी पढीरहन मन्लागने कस्तो राम्रो लेखेको..शब्दावरण जस्तो भयनि धेरै विचरणशिल छ भावनाहरु..
    आगामी लेखहरुको लागि सुभकामना!!!

    ReplyDelete
    Replies
    1. पढेर यसरी प्रतिक्रिया दिनुभयो,धरै धेरै धन्यवाद !

      Delete
  2. टेस पर्यो लेख । प्राय सबै (मुख्यगरी बोकत्व प्रबृत्ति)को सामुहिक लेख झैँ लागे । भाष शैली मोहक छ । म बुबुरो समालोचना गर्न जान्दीन माफ गर्नुस ।

    ReplyDelete
    Replies
    1. तपाइका प्रतिक्रिया अमुल्य छन् ! धन्यवाद !

      Delete
  3. super..this is also my story.....

    ReplyDelete
  4. starting chai dherai nai funny lagyo. feri pani lekhu.

    ReplyDelete
  5. ल दामी छ ब्रो।। :)

    ReplyDelete
    Replies
    1. ल भाइले पनि पढेछ ! हाजिरी लाग्यो ! :)

      Delete
  6. Thoroughly enjoyed bro! Simplicity at its best.

    ReplyDelete
  7. Enjoyed!! Krishna bro. I will be most happiest person if this gets some space in the newspaper.

    ReplyDelete
    Replies
    1. thank you dude ! mula grammar correct gar. :)

      Delete
  8. कडा हौ ब्रो...फ्यान भए म तिम्रो लेख को

    ReplyDelete
  9. धन्यवाद दाइ ! :)

    ReplyDelete
  10. ramro chha.. almost sabai ko kahani sanga mel khanchha

    ReplyDelete
  11. ramro chha.. almost sabai ko kahani sanga mel khanchha

    ReplyDelete
  12. Twitter ani anup dhungana ani kritag ko guf are inseperable will always be found in kritags notes.

    ReplyDelete
  13. Twitter ani anup dhungana ani kritag ko guf are inseperable will always be found in kritags notes.

    ReplyDelete
  14. टविटे बरिसट ��... म पनि हाजिर लाए।।।। एक दिनको तलव पाउं ��

    ReplyDelete
  15. ल ल खाता नम्बर देउ ! :)

    ReplyDelete